आचरणसम्बन्धी नियमावली, २०७९

कानून व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९

 

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल कानून व्यवसायी परिषद्‌बाट देहायका नियमहरू बनाई सर्वोच्च अदालतबाट मिति २०७९।११।१७ मा स्वीकृत भएबमोजिम जारी गरिएको छ।

१.   संक्षिप्त नाम र प्रारम्भ: (१) यस नियमावलीको नाम “कानून  व्यवसायीको  पेसागत  आचरणसम्बन्धी नियमावली, २०७९” रहेको  छ।

(२)  यो नियमावली सर्वोच्च अदालतबाट स्वीकृत भएको मितिदेखि प्रारम्भ हुने छ।

२.    परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा:

(क)   “ऐन” भन्नाले  नेपाल कानून व्यवसायी  परिषद् ऐन, २०५० सम्झनुपर्छ ।

(ख)   “अनुशासन समिति” भन्नाले  ऐनको  दफा ११ बमोजिमको  समिति  सम्झनुपर्छ।

(ग)   “अदालत” भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनुपर्छ र सो शब्दले कानूनबमोजिम कुनै खास किसिमका मुद्दाको कारबाही र किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारीलाई समेत जनाउँछ।

(घ) “परिषद्” भन्नाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० बमोजिम गठित परिषद् सम्झनुपर्छ।

३.    कानून व्यवसायीको कर्तव्य र जिम्मेवारी: प्रचलित कानूनबमोजिमका कर्तव्य र जिम्मेवारीको अतिरिक्त कानून व्यवसायीले देहायबमोजिमका व्यावसायिक आचरण पालन गर्नुपर्ने छः-

(क)    आफ्नो पेसामा पूर्णरूपले स्वतन्त्र रहेर कानूनी सेवा गर्ने,

(ख)    व्यक्तिगत स्वार्थ राखी वा मुद्दाको पक्षबाहेकका अन्य पक्षको प्रभावमा परी वा कानून व्यवसायीको स्वतन्त्रतामा आँच आउने गरी, पेसागत मर्यादाको विपरीत सम्झौता गरी वा नगरी कुनै कार्य नगर्ने,

(ग)    अनुचित स्वार्थ, मुद्दाको पक्षबाहेकका अन्य पक्षको प्रभाव वा आफ्नो पक्षको सर्वोत्तम हित वा व्यावसायिक निर्णयमा हस्तक्षेप हुन सक्ने कुनै पनि प्रकारका प्रभावबाट मुक्त भएर कार्य गर्ने,

(घ)    व्यावसायिक कार्यको सन्दर्भमा अरू कानून व्यवसायीसँग वा पक्ष र कानून व्यवसायीबिच कुनै असमझदारी वा विवाद भएमा आपसी छलफलबाट त्यसको समाधानको प्रयास गर्ने,

(ङ)    आफ्ना सहकर्मी र आफूसँग आबद्ध नवोदित कानून व्यवसायीलाई कानून व्यवसायमा स्थापित गर्नको लागि उचित पारिश्रमिकसहितको इन्टर्नसिप तथा अनुभव निरन्तर रूपमा आदान-प्रदान गर्ने व्यवस्था मिलाउने तथा निश्चित अवधि कानून व्यवसायीको अभ्यास गरिसकेका कानून व्यवसायीहरूलाई थप केही समयको व्यावसायिक आबद्धतासमेत उपलब्ध गराउने,

(च)    सेवाग्राही, सहकर्मी तथा आफूसँग आबद्ध कानून व्यवसायीप्रति सद्भाव कायम राख्ने तथा समान र सम्मानजनक व्यवहार गर्ने,

(छ)   आफूले पूरा गर्न नसक्ने जिम्मेवारीहरू वहन गर्छु भनी लिखित वा मौखिक रूपमा कसैबाट कुनै पनि जिम्मेवारी नलिने,

(ज)    सेवाग्राहीलाई मुद्दामा लाग्न सक्ने अनुमानित खर्च र सेवा’boutमा पूर्व जानकारी दिने, सेवा शुल्कबापत सेवाग्राहीबाट रकम यथासम्भव बैंकमार्फत भुक्तानी लिने र भुक्तानीको भपाई दिने व्यवस्था गर्ने तथा सेवा शुल्कको हिसाब दुरुस्त राखी लेखा  परीक्षण गराई कर चुक्ता प्रमाणपत्र लिने,

(झ)    प्रत्येक कानून व्यवसायी, फर्म वा कम्पनीले कानूनबमोजिम स्थायी लेखा नम्बर लिनुपर्ने,

(ञ)    मुद्दाका पक्षलाई अदालत, कानून व्यवसायी, कर्मचारी र मुद्दामा संलग्न अन्य व्यक्तिहरूप्रति शिष्ट व्यवहार गर्न प्रोत्साहन गर्ने, सल्लाह दिने र आवश्यक परेमा सोको लागि सचेत गराउने,

(ट)    परिषद्ले अदालत अभ्यास वृत्तिका लागि पठाएका प्रशिक्षार्थीलाई प्रशिक्षण दिने तथा अनुभव आदानप्रदान गर्ने।

४. कानून व्यवसायीको दायित्व: प्रचलित कानूनमा लेखिएबमोजिमका कर्तव्य र जिम्मेवारीका अतिरिक्त कानून व्यवसायीले देहायका कर्तव्य र दायित्वको पालना वा निर्वाह गर्नुपर्ने छः

(क) व्यावसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा, परिपत्र, समाचार प्रकाशन गर्ने, विज्ञापन वा पत्राचार गर्ने जस्ता काम गर्न हुँदैन।

तर,

यस खण्डको व्यवस्थाले आफू र आफ्नो फर्ममा कार्यरत सहकर्मीको नाम, ठेगाना, अनुभव, प्रदान गरिने सेवाहरू र विशेषज्ञताको क्षेत्रसम्म उल्लेख गरी सूचनाको स्रोतको रूपमा सूचना प्रविधिको माध्यमबाट वेभपेज सञ्चालन गर्न बाधा पुर्‍याएको मानिने छैन।

(ख) व्यावसायिक प्रचारका उद्देश्यबाट नाम पेटिका वा परिचयपत्र (भिजिटिङ कार्ड) वा फायल वा पत्राचार ठेली (लेटर प्याड) मा पूर्व हैसियत वा कानून व्यवसायसँग असम्बन्धित पद वा हैसियत लेख्न वा छाप्न हुँदैन।

तर, यस खण्डको व्यवस्थाले आफ्नो विषय विज्ञताको कार्यक्षेत्र उल्लेख गरी छाप्न बाधा पुर्‍याएको मानिने छैन।

(ग)  विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट न्यायपालिका, न्यायाधीश, कर्मचारी तथा आफ्ना कानून व्यवसायी सहकर्मीप्रति आघात पुर्‍याउने, आक्षेप लगाउने वा बेइज्जती गर्ने उद्देश्यले कुनै विचार वा धारणा व्यक्त गर्न वा नकारात्मक टिप्पणी गर्न वा कसैले गरेका त्यस्ता टिप्पणीप्रति आफ्नो सहमति रहेको भनी प्रति-टिप्पणी वा भाव व्यक्त गर्न हुँदैन।

(घ) आफूले अदालतमा बहस गरेको, कानूनी परामर्श प्रदान गरेको वा आफू संलग्न भएको आदेश वा फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जाल वा कुनै माध्यमबाट सार्वजनिक प्रकाशनमा ल्याउन हुँदैन।

तर यस खण्डको व्यवस्थाले सार्वजनिक सरोकारको महत्त्वपूर्ण विषयमा रचनात्मक टिप्पणी गर्न वा बौद्धिक बहस गर्न बाधा पुर्‍याएको मानिने छैन।

(ङ)  अदालतमा विचाराधीन मुद्दाका पक्षको गोपनीयतामा प्रतिकूल प्रभाव पार्ने गरी आफ्नो राय वा विचार सार्वजनिक रूपमा व्यक्त गर्न वा लेख रचना प्रकाशित गर्न, विज्ञापन गर्न वा अन्तर्वार्ता दिन हुँदैन।

(च) कुनै मुद्दा अर्को कानून व्यवसायीलाई पठाएबापत कुनै किसिमको उपहार, क्षतिपूर्ति वा कमिसन लिनु वा दिनु हुँदैन।

(छ) पेसीमा चढेको मुद्दा अनावश्यक रूपमा पेसीबाट हटाउन माग गर्न वा पक्ष, विपक्ष वा विपक्षीको कानून व्यवसायीलाई दुःख हैरानी दिन हुँदैन। मनासिब कारण परी मुद्दा हटाउनु परेमा सम्भव भएसम्म विपक्षीतर्फका कानून व्यवसायीलाई पूर्व जानकारी दिनुपर्ने छ। मुद्दालाई अनावश्यक रूपमा लम्बाउने गरी बहस गर्न तथा न्यायिक काम कारबाहीमा बाधा अबरोध पुर्‍याउन हुँदैन।

(ज) मुद्दाको सन्दर्भमा बहस गर्ने क्रममा वा पक्षको प्रतिनिधित्व गरी अन्य कुनै ठाउँमा कानूनी सेवा प्रदान गर्ने क्रममा प्रतिपक्षी कानून व्यवसायीप्रति सम्मानजनक व्यवहार गर्ने तथा रिस, राग, द्वेष नराखी सौहार्दपूर्ण व्यवहार गर्ने गर्नुपर्ने छ। एक-अर्काप्रति अनुचित लाञ्छना लगाउन हुँदैन।

(झ) कानून व्यवसायीले कुनै प्रकारको विचौलियाको रूपमा काम गर्नु हुँदैन।

(ञ) व्यावसायिक कर्तव्यपालनको सिलसिलामा कसैले राय परामर्शका लागि बोलाएको वा आफूले कसैलाई राय सल्लाह, परामर्श दिएको विषयमा प्रचारप्रसार गर्नु गराउनु हुँदैन।

(ट)  कुनै मुद्दामा एक पक्षको कानून व्यवसायी नियुक्ति भएपछि सो मुद्दाका अर्को पक्षलाई राय, सल्लाह दिन वा अर्को पक्षको प्रतिनिधित्व गर्नु हुँदैन।

तर, पक्षहरूबिचको आपसी सहमतिमा मुद्दा मिलापत्र गराउने सन्दर्भमा यो व्यवस्था लागु हुने छैन ।

(ठ) नेपाल बार एसोसिएसनको विधानको उद्देश्य प्राप्तिको कार्यलाई कमजोर बनाउने कुनै कार्य गर्नु गराउनु हुँदैन।

(ड)  आफूले नगरेको कार्यलाई गरेको वा आफ्नो हुँदै नभएको हैसियतलाई भएको भनी सो कुराबाट लाभ लिनेगरी कुनै कार्य गर्नु गराउनु हुँदैन।

(ढ)  मुद्दा प्राप्त गर्नको लागि विचौलिया नियुक्त गर्न वा मुद्दा उपलब्ध गराइदिएबापत कसैलाई कुनै किसिमको कमिसन दिन हुँदैन।

(ण) परिषद्ले मागेको विवरण पेस गर्दा झुटो वा बनावटी विवरण पेस गर्न हुँदैन।

(त) इजलाससमक्ष कानून व्यवसायी बस्ने ठाउँमा वरिष्ठ अधिवक्तालाई प्राथमिकता दिनुपर्ने छ। सरकारी वकिलका लागि बस्ने स्थान छोडिदिनुपर्ने छ। आफ्नो पालो नआउँदासम्म इजलासमा अनावश्यक भिड गर्ने गरी कानून व्यवसायी बस्ने ठाउँमा बस्नु हुँदैन ।

(थ) कानून व्यवसायीले सुनुवाइ भइरहेको मुद्दामा प्रभाव पर्ने गरी सो मुद्दामा बहस गर्नुभन्दा अघि वा पछि कुनै विज्ञप्ति निकाल्ने, अन्तर्वार्ता दिने वा अन्य कुनै प्रकाशन वा प्रशारणको माध्यममार्फत अभिव्यक्ति दिनु हुँदैन।

(द) पक्षलाई अदालतबाट दिइने सूचना वा म्याद कानून व्यवसायीले पक्षको तर्फबाट बुझ्न सक्ने भएकाले त्यसको जानकारी पक्षलाई समयमा नै (तत्काल) दिनुपर्ने छ।

(ध) साक्षी परीक्षण गर्दा साक्षीको व्यक्तित्व, चरित्र जस्ता विषयमा प्रश्न गर्न पाइने छैन। सामान्यतया: सेवाग्राहीको प्रतिरक्षा अदालत वा न्यायिक वा अर्ध न्यायिक निकायमा गर्नुपर्ने छ। अदालतले आदेश वा निर्देश गरेको अवस्थामा कानून व्यवसायीले पक्षको तर्फबाट अदालत वा न्यायिक निकायमा जमानत बस्ने वा जिम्मा लिने कार्यको दायित्व लिन सक्ने छ।

(न) इजलास समक्ष बुँदागत रूपमा संक्षिप्त रूपमा बहस गर्नुपर्ने छ। बहस गर्दा निर्धारित समयमा टुङ्ग्याउने गर्नुपर्ने छ।

(प) अदालतले मौन क्षेत्र घोषणा गरेको स्थानमा मौनता कायम गर्नुपर्ने छ।

(फ) कुनै कानून व्यवसायीले पक्षलाई परामर्श दिँदा कानून छल्ने, झुठ्ठा बोल्न उद्यत गर्ने ढङ्गले परामर्श वा राय दिन हुँदैन। कानून व्यवसायीले अभियुक्तलाई व्यक्तिगत संरक्षण दिने, लुकाएर राख्ने जस्ता कार्यहरू गर्नु हुँदैन।

(ब)  कानून व्यवसायीले मुद्दाको प्रकृति, मिसिलको आकार (भोलुम), अध्ययन गर्न लाग्ने समय, अदालतमा प्रतिनिधित्व गर्नुपर्ने सम्भावित पटक एवं मुद्दामा पाएको जिम्मेवारी, आवश्यक पर्ने अनुसन्धान, अध्ययनमा लाग्ने जनशक्ति आदि विषयसमेतको आधारमा कानून व्यवसायी र पक्षबिचको आपसी सहमतिमा सेवा शुल्क लिन सक्ने छन्। शुल्क लिँदा रसिद दिनुपर्ने छ। शुल्क लिने सम्बन्धमा परिषद्ले अन्य आवश्यक मापदण्ड निर्धारण गरी व्यवस्थित गर्न सक्ने छ।

(भ) कानून व्यवसायीले आफ्नो कार्यालय वा अदालतलगायतका कार्यक्षेत्रमा कसैलाई यौनजन्य दुर्व्यवहार गर्नु वा गर्न दिनु हुँदैन।

५. कानूनी सल्लाहकारको रूपमा काम गर्न वा बहस पैरवी गर्न नहुने: (१) देहायको पदमा निर्वाचित वा मनोनयन भएको कानून व्यवसायीले आफू सो पदमा बहाल रहुन्जेल नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह र सो अन्तर्गतका कार्यालय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेका संस्थाको कानूनी सल्लाहकार भएर काम गर्नु हुँदैन।

(क) स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष वा प्रमुख वा उपप्रमुख वा सदस्य पदमा;

(ख) प्रदेशसभाको सदस्य पदमा, र

(ग) संघीय संसद्को सदस्य पदमा।

(२) उच्च अदालतको न्यायाधीश भई सेवा निवृत्त भएको व्यक्तिले आफूले न्यायाधीशको हैसियतमा सेवा गरेको उच्च अदालत र सो उच्च अदालत मातहतका जिल्ला अदालतमा बहस पैरवी गर्नु हुँदैन।

तर त्यस्ता कानून व्यवसायीले अन्य उच्च अदालत र सर्वोच्च अदालतमा उपस्थित भई बहस पैरवी गर्न बाधा पर्ने छैन।

६. वरिष्ठ अधिवक्ताले पालना गर्नुपर्ने थप आचरण:  यस नियमावलीबमोजिमका पालना गर्नुपर्ने आचारको अतिरिक्त वरिष्ठ अधिवक्ताले देहायको आचरणसमेत पालना गर्नुपर्ने छ:-

(क) अर्ध न्यायिक निकायमा उपस्थित भई बहस पैरवी गर्न हुँदैन।

(ख) कुनै पनि मुद्दामा इजलासमा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक सहयोगीको रूपमा संलग्न गराउनुपर्ने छ।

(ग) सहयोगी कानून व्यवसायीलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने छ। व्यावसायिक सहयोगीलाई बहस गर्न प्रोत्साहित गरी सामान्यतया: पहिले निजलाई बहस गर्न दिई त्यसपछि आफूले बहस गर्नुपर्ने छ।

७. पक्षप्रतिको जिम्मेवारी:  प्रचलित कानूनमा उल्लेख भए अनुसारका कर्तव्य र जिम्मेवारीको अतिरिक्त कानून व्यवसायीले देहायबमोजिमको जिम्मेवारीसमेत पूरा गर्नुपर्ने छः-

(क) बन्दीप्रत्यक्षीकरण र सार्वजनिक सरोकार रहेको मुद्दाबाहेकका अन्य मुद्दामा कानून व्यवसायी आफैँ मुद्दामा उपस्थित हुन वा मुद्दा माग्न वा मुद्दा सुनुवाइ प्रक्रियामा आफूखुसी सामेल हुन हुँदैन।

तर, कुनै अर्को कानून व्यवसायीले कुनै निश्चित मुद्दाको सम्बन्धमा बहस पैरवीलगायतका अन्य कानूनी सल्लाह प्रदान गरिदिन अनुरोध गरेको अवस्थामा वा अख्तियार प्राप्त निकायले कुनै कानूनी सहयोग मागेको अवस्थामा त्यस्तो सहयोग प्रदान गर्न यस खण्डको व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन ।

(ख) आफूले पक्षको तर्फबाट बहस पैरवी गर्न नभ्याउने वा नसक्ने अवस्थामा पक्षलाई फाइल फिर्ता गर्दा अर्को कानून व्यवसायी नियुक्ति गर्न पर्याप्त समय प्राप्त हुने गरी दिनुपर्ने छ।

(ग) पक्षको प्रतिनिधित्व गर्दा इमानदारीका साथ कानूनको परिधिभित्र रही कानूनी सल्लाह, सेवा तथा बहस पैरवी गर्नुपर्ने छ।

(घ) पर्याप्त आधार र कारण रहेको अवस्थामा वा सम्बन्धित पक्षको सहमतिमा बाहेक एकपटक लिइसकेको मुद्दामा बहस, पैरवी, प्रतिरक्षालगायतका कानूनी सेवा प्रदान गर्ने जिम्मेवारीबाट कानून व्यवसायीले अलग हुन हुँदैन ।

(ङ) पक्षलाई विवाद समाधानका सम्भावना, मेलमिलापलगायतका वैकल्पिक उपाय अपनाउन सकिने कुरा, त्यसमा लाग्न सक्ने समय र खर्चसमेतका विषयमा स्पष्ट रूपमा अवगत गराउनुपर्ने छ। पक्षलाई मुद्दाको सुनुवाइ, फैसला, पुनरावेदन जस्ता कुराहरूका सम्बन्धमा आवश्यक पूर्ण र प्रस्ट जानकारी दिनुपर्दछ।

(च) अव्यावहारिक र असम्भव छ भन्ने थाहा हुँदाहुँदै पक्षलाई अलमल्याउने अभिप्रायले मुद्दा गर्न गराउन वा मुद्दा लम्ब्याउने जस्ता कार्य गर्नु हुँदैन।

(छ) कानूनी राय परामर्श दिंदा कानूनी आधारहरू उल्लेख गरी तथ्य र तर्कसंगत रूपमा राय दिनुपर्ने छ।

(ज) कानून व्यवसायीले पालन गर्नुपर्ने आचरणको ’boutमा पक्षलाई आवश्यकतानुसार जानकारी प्रदान गर्नुपर्ने छ।

(झ) पक्षलाई कानूनी सेवा प्रदान गर्ने क्रममा पक्षबाट प्राप्त गरेका जानकारी तथा तथ्यको विषयमा गोपनीयता कायम राख्नुपर्दछ। त्यस्ता जानकारी तथा तथ्यको विषयमा गोपनीयता भङ्ग गर्नु हुँदैन। आफूसँग आबद्ध कानून व्यवसायीलगायत अन्य सहयोगी  कर्मचारीहरूबाट पक्षले दिएका जानकारीहरूको गोपनीयता भङ्ग भए-नभएको विषयमा अनुगमन गर्ने गर्नुपर्दछ।

(ञ) झुठा मुद्दा चलाउन पक्षलाई कुनै किसिमको सहयोग वा प्रेरणा दिनु हुँदैन।

(ट) कसैलाई दुःख दिने वा प्रतिशोध लिने उद्देश्यले मुद्दा सिर्जना गर्नु गराउन पक्षलाई प्रोत्साहन गर्न वा परामर्श दिन हुँदैन।

(ठ) पक्षसँग मुद्दामा सम्बन्धित बिगोको प्रतिशतका आधारमा पारिश्रमिक लिन वा मुद्दामा हुने जित-हारका आधारमा बोलकबोल गरी मुद्दा लिनु वा पारिश्रमिक तय गर्नु हुँदैन। कानून व्यवसायीले आफू संलग्न भएको मुद्दाको परिणामबाट प्राप्त हुने सम्पत्तिउपर स्वार्थ राख्न वा खरिद गर्न हुँदैन। आफूले प्रतिनिधित्व गरेको मुद्दाको प्रयोजनको लागि पक्षलाई ऋण दिन वा पक्षसँग ऋण लिनु हुँदैन।

(ड) मुद्दाका पक्षहरूको उठाउनुपर्ने कर्जा रकम वा अन्य असुल गर्नुपर्ने रकम उठाइदिने जिम्मेवारी लिई त्यसरी उठेको रकमबाट आफूले समेत हिस्सा लिने गरी कुनै कार्य गर्नु हुँदैन।

(ढ) एकै मुद्दामा पक्ष वा विपक्ष दुवैका तर्फबाट मस्यौदा गर्न वा बहसमा प्रतिनिधित्व गर्न हुँदैन। आफूसँगै काम गर्ने कानून व्यवसायी वा लेखापढी व्यवसायी वा अन्य व्यक्तिद्वारा जानीजानी प्रतिपक्षको तर्फबाट कुनै कानूनी मस्यौदा तयार गर्न वा बहस वा पैरवी गर्न गराउन दिनु हुँदैन।

(ण) एक पटक एउटा पक्षको तर्फबाट हेरिसकेको मुद्दाको विषयमा पुन: मुद्दा लिन र राय परामर्श दिन, वा कानून व्यवसायीको रूपमा संलग्न हुन हुँदैन।

तर, पक्षहरूबिच आपसी सहमति भई मुद्दामा मिलापत्र गर्ने क्रममा छलफल गर्न र मिलापत्र गराउने कार्यमा वा फैसला भैसकेपछि सो फैसलाको अध्ययन, अनुसन्धान गर्न, प्रतिवेदन तयार गर्न वा जुरिमेट्रिक रिसर्च गर्न बाधा पर्ने छैन।

(त) पक्षले दिएको लिफामा तमसुक, करारनामा आदि कुनै पनि प्रकारको लिखत खडा गरी आफू वा अरू कसैलाई फाइदा वा पक्षलाई बेफाइदा हुने कुनै काम गर्नु हुँदैन।

(थ) पक्षले दिएको सद्दे लिखत विपक्षीसँग मिली बिगारी प्रमाण नलाग्ने वा काम नलाग्ने तुल्याउनु हुँदैन।

(द) पक्षले दिएको लिखतसमेतका प्रमाण विपक्षलाई फाइदा पुर्‍याउने उद्देश्यले उपलब्ध गराउन हुँदैन।

(ध) आफूले प्रतिनिधित्व गर्ने पक्षको हितलाई आफ्नो स्वार्थ र अरूको स्वार्थभन्दा अगाडि राख्नुपर्छ। स्वार्थ बाझिने कानूनी कारबाहीमा प्रतिनिधित्व गर्नु हुँदैन।

(न) कुनै मुद्दामा सह–अभियुक्त र पक्षहरू एकभन्दा बढी भई पक्षहरूको स्वार्थ बाझिने अवस्था भएमा सामान्यतया एकभन्दा बढी पक्षको कानूनी प्रतिनिधित्व गर्नु हुँदैन।

(प) आफ्नो पक्ष वा पक्षको आधिकारिक प्रतिनिधिबाहेक अरू कुनै व्यक्तिको निर्देशनमा पक्षको हित प्रतिकूल हुनेगरी कार्य गर्न हुँदैन। अभियुक्तको निर्दोषिता प्रमाणित गर्ने कुनै पनि सामग्री वा प्रमाणलाई कानून व्यवसायीले दबाउनु हुँदैन।

(फ)   कुनै कानून व्यवसायीले पक्षलाई परामर्श दिँदा कानून छल्ने, झुठ्ठा बोल्न उद्यत गर्ने ढङ्गले परामर्श वा राय दिन हुँदैन। कानून व्यवसायीले अभियुक्तलाई व्यक्तिगत संरक्षण दिने, लुकाएर राख्ने जस्ता कार्यहरू गर्नु हुँदैन।

(ब) कुनै कारणबाट पक्षको स्वार्थ बाझिने अवस्था देखिएमा सो कुराको जानकारी पक्षलाई गराउनुपर्दछ। त्यस्तो स्वार्थको द्वन्द्व न्यूनीकरणको लागि कानून व्यवसायीले आवश्यक पहल गर्नुपर्दछ। स्वार्थ वा द्वन्द्व न्यूनीकरण गर्न असमर्थ भएमा उक्त मुद्दाबाट कानून व्यवसायी अलग हुनुपर्ने छ।

८. अदालत र न्यायाधीशप्रतिको  जिम्मेवारी:  प्रचलित कानूनमा लेखिएको जिम्मेवारीका अतिरिक्त कानून व्यवसायीले अदालत र न्यायाधीशप्रति देहायको व्यावसायिक आचरण पालन गर्नुपर्ने छः

(क) मुद्दा टुङ्गयाउने प्रक्रियामा अदालतलाई सहयोग गर्नुपर्दछ।

(ख) सत्य कुराको बयान वा बकपत्र गर्न गराउनबाट पक्षलाई रोक्न हुँदैन।

(ग)  मिसिलमा नभएको तथ्य जानीजानी बहसमा प्रस्तुत गर्नु हुँदैन।

घ)  न्यायाधीशसँग अनावश्यक सम्पर्कमा आउने, व्यक्तिगत सञ्चार गर्ने, भेटघाट गर्ने, व्यक्तिगत वा सार्वजनिक कार्यबाहेकका अन्य समूहगत भोजको आयोजना गर्ने, न्यायाधीशलाई विवादमा ल्याउने तथा व्यक्तिगत मान मर्यादामा आँच ल्याउने कार्य गर्नु हुँदैन।

(ङ)  मुद्दा मामिलालाई प्रभाव पार्ने गरी न्यायाधीश वा सम्बन्धित फाँटवाला वा कर्मचारीसँग फोन, एस.एम.एस. आदि गर्न तथा इजलासबाहिर मुद्दा मामिलाको तथ्य सम्बन्धमा कुराकानी गर्नु हुँदैन।

(च) न्यायिक प्रक्रियालाई दुरूपयोग गर्न वा गराउन हुँदैन।

(छ) न्याय प्रशासनसँग सम्बन्धित काम कारबाहीका सिलसिलामा अदालत वा न्यायाधीशप्रति अनास्था पैदा हुने किसिमका झुठा बेहोराको सूचना प्रचार-प्रसार गर्नु हुँदैन।

(ज) अदालतको समयमा मद्यपान, धुम्रपान, मादक पदार्थ, लागू पदार्थ वा यस्तै प्रकृतिका अन्य पदार्थ सेवन गरी अदालतमा उपस्थित हुनु हुँदैन।

(झ) इजलासमा बहस गर्दा शिष्टतापूर्वक बहस गर्ने र आफ्नो पालोमा तर्कसंगत ढङ्गले प्रस्तुत हुने जस्ता अनुशासनका नियमहरू पालन गर्नुपर्ने छ।

(ञ) अदालतसमक्ष मुद्दाको यथार्थ तथ्य, कानून र नजिरको यथार्थ प्रस्तुति गर्नुपर्दछ। कुनै पनि कानून व्यवसायीले अदालतलाई गुमराह वा भ्रमित गर्न हुँदैन।

(ट) अदालतमा बहस गर्न जाने कानून व्यवसायीले इजलाससमक्ष संक्षिप्त लिखित बहस बुँदाहरू पेस गर्नुपर्ने छ। वरिष्ठ अधिवक्ताले आफ्नो तर्फबाट सहयोगी अधिवक्तालाई त्यस्ता बुँदाहरू पेस गर्न अनुमति दिन सक्ने छ।

(ठ) कुनै मुद्दामा एकै पक्षका एकभन्दा बढी संख्यामा कानून व्यवसायी रहेको भए बहस प्रतिरक्षाको नेतृत्व गर्ने मुख्य कानून व्यवसायीले बहस पैरवीको लागि आपसी समय व्यवस्थापन गर्नुपर्ने छ।

(ड) कुनै मुद्दा पेसी स्थगित गर्ने कुरालाई कानूनी अधिकारको रूपमा नभएर आफूलाई परेको यथार्थ अप्ठ्यारोको आधारमा माग गरिनुपर्दछ र त्यसरी सुनुवाइ स्थगित गर्दा जे कारणले स्थगित माग गरेको हो सोही कारण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ।

(ढ) अदालतको सहयोगीका रूपमा सम्बन्धित बार एसोसिएसनलाई कानून व्यवसायीको सेवा वा सहयोग उपलब्ध गराई दिन अदालतबाट अनुरोध भएमा तोकिएका वरिष्ठ अधिवक्ता वा अधिवक्ताले बहस पैरवी गरी अदालतलाई सहयोग गर्नुपर्दछ।

९.  सर्वसाधारणप्रतिको दायित्व: (१) प्रचलित कानूनमा लेखिएबमोजिमको कर्तव्य वा जिम्मेवारीको अतिरिक्त कानून व्यवसायीले सर्वसाधारणप्रति देहायको व्यावसायिक आचरण पालन गर्नुपर्ने छः

(क)  आफूले वा आफ्नो प्रत्यक्ष निर्देशन र निगरानीमा आफ्नो फर्म वा चेम्बरको कानून व्यवसायी वा आफूसँग काम गर्ने लेखापढी व्यवसायीबाहेक अन्य व्यक्तिले तयार गरेको मस्यौदा प्रमाणित गरिदिने उद्देश्यले सही गर्नु हुँदैन।

(ख)  फौजदारी मुद्दामा बहस पैरवी गर्दा अभियुक्तलाई सफाइ दिलाउने उद्देश्यले बनावटी वा झुट्टा कुरा गर्ने वा पक्षलाई गर्न लगाउने, पक्षलाई अन्यत्र रहेको जिकिर लिन प्रेरित गरी सोलाई पुष्टि गर्न कृत्रिम प्रमाणको सृजना गर्न वा गर्न लगाउन हुँदैन।

(ग)  भ्रष्टाचार गर्न, गराउन हुँदैन। कुनै मुद्दामा न्यायाधीशलाई भनसुन गर्ने जस्ता अनुचित कार्य गर्नु गराउनु हुँदैन।

(घ)  नैतिक पतन देखिने फौजदारी अपराध गर्नु हुँदैन।

(ङ)  पक्षले मुद्दा हारे वा जितेमा झुठा उजुर गर्न प्रोत्साहन गर्नु हुँदैन।

(च)  इजलाससमक्ष बहस पैरवीको लागि उपस्थित हुँदा सर्वप्रथम आफ्नो परिचय खुलाई वकालतनामा पेस भएको जानकारी दिई बहस जिकिर प्रारम्भ गर्नुपर्दछ।

(२) कानून व्यवसायको सिलसिलामा बहस पैरवी गरेको विषयमा कोही कसैले कानून व्यवसायीको कार्यालयदेखि अदालतसम्म आउँदा जाँदा वा कानून व्यवसाय गरेको आधारमा धम्की, गालीगलौज तथा दुर्व्यवहार गरी असुरक्षाको अवस्था सृजना गरेमा परिषद्ले कानूनबमोजिम कारबाही चलाउन सम्बन्धित निकाय वा अदालतमा अनुरोध गर्न सक्ने छ।

१०. वकालतनामा पेस गर्नुपर्ने: (१) कानून व्यवसायीले अदालतमा बहस पैरवी गर्दा मुद्दाका पक्षको तर्फबाट अनुसूची-१ बमोजिमको ढाँचामा वकालतनामा पेस गर्नुपर्ने छ।

(२) कानून व्यवसायीले आफू संलग्न कुनै मुद्दामा वकालतनामा पेस गरेपछि आफू सहभागी हुन असमर्थ भएमा अदालतमा लिखित निवेदन दिई आफ्नो वकालतनामा निष्क्रिय बनाउनुपर्ने छ। प्रतिनिधित्व गरेको मुद्दाको परिणामलाई लिएर कानून व्यवसायीउपर उजुर-बाजुर परेमा सो विषयमा परिषद्लाई यथार्थ बेहोराको जानकारी दिनुपर्दछ।

११. कानून व्यवसायीको पोसाक: कानून व्यवसायीले बहस पैरवीको लागि इजलासमा उपस्थित हुँदा अनुसूची -२ मा तोकिएबमोजिमको पोसाक अनिवार्य रूपमा लगाउनुपर्ने छ।

१२. उजुरी दिन सक्ने: (१) कानून व्यवसायीले पालना गर्नुपर्ने व्यावसायिक आचरणसम्बन्धी नियमहरूको उल्लंघन भएको विषयमा उजुर गर्न चाहने सम्बन्धित सरोकारवाला व्यक्तिले कुन कानून व्यवसायीले कुन आचारसंहिता उल्लंघन गरेको हो त्यसको सम्भव भएसम्मका आधार, प्रमाण तथा विवरण खुलाई परिषद्समक्ष लिखित रूपमा उजुरी दिन सक्ने छ।

(२) परिषद्ले आफ्नो जानकारीमा आएको कुनै पनि आचारणसम्बन्धी नियमहरूको उल्लंघनको विषयलाई लिएर कसैको लिखित उजुरी नभए पनि स्वयं जानकारीको आधारमा आवश्यक अनुशासनात्मक कारबाही गर्न सक्ने छ।

(३) कानून व्यवसायीउपरको पेसागत आचरणसम्बन्धी उजुरीको विषयमा कारबाही गर्दा परिषद्को अनुशासन समितिले उजुरवाला वा सरोकारवालाहरूसँग आवश्यक विवरण वा कागजात माग गर्न सक्ने छ।

(४) यस नियममा जुनसुकै कुरा लेखिएको भए तापनि कानून व्यवसायीले आफ्नो पक्षको हितका लागि असल नियतले अदालतमा बहस पैरबी गरेको कुरालाई लिएर निजउपर कुनै कारबाही हुने छैन। कानून व्यवसायीलाई पूर्ण व्यावसायिक स्वतन्त्रता रहने छ।

१३. गोप्य राख्नुपर्ने: (१) परिषद् तथा अनुशासन समितिले कानून व्यवसायी विरुद्ध परेको उजुरीको प्रारम्भिक अनुसन्धान गर्दा उजुरवालाको नाम, उजुरी बेहोरा र छानबिनको कुरा गोप्य राख्नुपर्ने छ। यसरी प्रारम्भिक छानबिन गर्दा कानून व्यवसायीउपर पूर्वाग्रह राखी अनावश्यक रूपमा उजुरी गरेको देखिएमा परिषद्ले त्यस्तो उजुरी खारेज गर्न वा तामेलीमा राख्न सक्ने छ।

(२) उजुरीउपर कारबाही गर्दा कसैले कानून व्यवसायीमाथि झुठा उजुरी गरेको देखिएमा त्यस्तो व्यक्तिलाई प्रचलित कानूनबमोजिम कुनै कारबाही हुने रहेछ भने तत् सम्बन्धी कानूनी प्रक्रिया अपनाउनुपर्ने छ।

१४. जाँचबुझ गरी कारबाही गरिने: (१) नियम १२ बमोजिम कानून व्यवसायी विरुद्ध परेको उजुरीको जाँचबुझ अनुशासन समिति (कार्यव्यवस्था) नियमावली, २०५८ बमोजिम छानबिन र कारबाही गरिने छ।

(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा कानून व्यवसायीले पालना गर्नुपर्ने आचारणगत नियमहरूको पालना गरेको नदेखिएमा अनुशासन समितिले निजलाई कानूनबमोजिम कारबाही र सजाय गर्न सक्ने छ।

१५. आचारसंहिता उल्लंघन भएको नमानिने:  यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कानून व्यवसायीले आचरणगत नियमहरूको उल्लंघन गरेको  मानिने छैन:

(क) कुनै कम्पनी, कर्पोरेसन, संगठित संस्था आदिको तर्फबाट सल्लाहकार भएको तत्कालीन अवस्थामा बाहेक कुनै मुद्दा हेरेकोमा ती निकायका विरूद्धका पछि अन्य मुद्दामा कानूनी सेवा वा सहयोग प्रदान गरेकोमा, वा

(ख) नेपाल सरकारका पूर्ण वा आंशिक स्वामित्व भएका संघ संस्था वा कार्यालयमा आबद्ध व्यक्तिले वकालत गर्न स्वीकृति लिएको विषयमा, वा

(ग)  मुद्दा मिलापत्र भएको अवस्थामा मिलापत्रको निवेदन मसौदा गरेको र मिलापत्र तयार गरेबापत पक्ष विपक्षबाट मनासिब पारिश्रमिक लिएको विषयमा, वा

(ङ)  कानून व्यवसायसँग असम्बन्धित पारिवारिक वा छिमेकी वा अन्यसँग वादविवाद भएको जस्ता विषयमा, वा

(च) अदालतमा बहसको सिलसिलामा व्यक्त गरेको शिष्टाचारयुक्त विषयमा, वा

(छ) एक पटक पक्ष वा विपक्षबाट हेरिसकेको मुद्दाको फैसला भैसकेपछि सो फैसलाको अध्ययन, अनुसन्धान गर्न, प्रतिवेदन तयार गर्न र जुरिमेट्रिक रिसर्च गरेकोसम्बन्धी बौद्धिक अभ्यासको विषयमा।

१७.  खारेजी र बचाउ: (१) कानून व्यवसायीको आचारसंहिता, २०५१ खारेज गरिएको छ।

(२) कानून व्यवसायीको आचारसंहिता, २०५१ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावलीबमोजिम भए गरेको मानिने छ।

 

 

 

अनुसूची – १

(नियम १० सँग सम्बन्धित)

वकालतनामाको ढाँचा

 

श्री………………………………………………………………पेस गरेको

वकालतनामा

सम्वत् २० ….. सालको रिट / पुनरावेदन / निवेदन / दे.मु. / फौ.मु. नम्बर ……

 

पक्ष …………………………………………………………………………..

विपक्ष …………………………………………………………………………

मुद्दा:   …………..

उपरोक्त मुद्दामा म ………………………………………….. वादी / प्रतिवादी / पुनरावेदक / प्रत्यर्थी / निवेदक भएको हुनाले यो मुद्दा अन्तिम निर्णय नभएसम्म उपस्थित हुन / बहस पैरवी गर्न / मेरो नामको म्याद बुझिलिनसमेत तपाईं वरिष्ठ अधिवक्ता / अधिवक्ता / अभिवक्ता ………………………. लाई मैले कानून व्यवसायी राखेको हुनाले आजका मितिमा तपाईंको नाममा यो वकालतनामा लेखिदिएको छु। यो मुद्दामा मलाई अहित हुने कुनै कार्य नगर्नु होला। मेरो तर्फबाट मुद्दामा प्रतिनिधित्व गर्दा मुद्दाको परिणामलाई लिएर तपाईंउपर सो विषयमा कहीं कतै उजुरबाजुर गर्ने छैन।

 

पक्षको नाम र सही

 

मन्जुरी

तपाईं श्री…………………………………………. ले उपर्युक्त बेहोराको वकालतनामा मलाई दिनुभएकोले पक्षको तर्फबाट उपर्युक्त मुद्दामा बहसपैरवी गर्न मेरो मन्जुरी छ। यस मुद्दामा तपाईंलाई अहित हुने कुनै कार्य गर्ने छैन।

 

मिति:

वरिष्ठ अधिवक्ता  / अधिवक्ता / अभिवक्ता

प्रमाणपत्र संख्या:

 

अनुसूची २

(नियम ११ सँग सम्बन्धित)

(अदालतमा बहस पैरवीको लागि उपस्थित हुँदा कानून व्यवसायीले लगाउनुपर्ने पोसाक)

 

(क)  पुरूष कानून व्यवसायीको लागि:

१. राष्ट्रिय पोसाक दौरा सुरूवालमा कालोकोट, छालाको तुनासहितको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा, ढाकाको टोपी वा भादगाउँले कालो टोपी।

वा

२. कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट, छालाको तुनासहितको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा, ढाकाको टोपी वा भादगाउँले कालो टोपी, टाई वा नेक बेन्ड (यसमा ढाकाको टोपी वा भादगाउँले कालो टोपी, टाई वा नेक बेन्ड ऐच्छिक हुने छ)।

वा

३.  कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट, सादा सेतो देखिने सुतीको मोजा र छालाको तुनासहितको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा।

(ख)   महिला कानून व्यवसायीको लागि:

१. कालो कोटमा सारी, चोलो वा ब्लाउज वा सादा रंगको कुर्ता र सलवार, छालाको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा।

वा

२.  कालो कोट, कालो पाइन्ट, सादा सेतो सर्ट, छालाको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा।

वा

३. कालो रङ्गको गाउन, सादा सेतो सर्ट, स्टान्ड, कालो पाइन्ट, छालाको औपचारिक कालो जुत्ता र सादा सेतो देखिने सुतीको मोजा वा कालो गाढा रंगको सुतीको मोजा।

(ग)   खण्ड (क) वा (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि –

१ आसौच ’boutको अवस्थामा आफ्नो रीति तथा परम्पराबमोजिमको पोसाक लगाउन सकिने छ।

२. मौसम अनुसार बाक्लो वा पातलो साधा कालो स्वेटर लगाउन सकिने छ।

(घ) सबै प्रकारका पोसाकमा नेपाल कानून व्यवसायी परिषद् वा नेपाल बार एसोसिएसनद्वारा जारी भएको ब्याच लगाउनु अनिवार्य हुने छ।

*******************